FAQs Complain Problems

ढकारीको वडा नम्बर ३ मा सार्वजनिक सुनुवाइ सम्पन्न

अछामको ढकारी गाउँपालिका वडा नम्बर ३ को सार्वजनिक सुनुवाइ आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा सेवा प्रवाह बारे सुनुवाइ गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

वडाध्यक्ष चन्द्रबहादुर बुढाको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउँदले उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो । उहाँले विद्युत्, खानेपानी, विद्यालय भवन, पशु तथा कृषि सँग उठेका प्रश्नको जवाफ दिनु भएको हो । विद्युत्का सन्दर्भमा अध्यक्ष साउँदले प्रत्येक वडामा बिजुली बाल्ने लक्ष्यका साथ काम सुरु गरिएको भएपनि ठेकेदारको लापरबाही र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्तीले अपेक्षा गरिएको समयमा काम सम्पन्न हुन नसकेको बताउनुभयो ।

तर यस बारे आफु निकै चिन्तित रहेको भन्दै उहाँले सम्बन्धित निकाय सँग पटकपटक छलफल भइरहेकाले अब छिटोभन्दा छिटो काम सक्ने गरी दबाब दिइने बताउनुभयो । स्थानीले समेत त्यसका लागि सकारात्मक भुमिका खेल्नुपर्ने उहाँको भनाई छ । केवल बिरोधकै लागि आलोचना गर्नु भन्दा ढकारीको समग्र विकासका लागि सर्बपक्षीय रुपमा सहयोगको खाचो रहेको उहाँको भनाई छ ।

बजेट अभावले पशु, कृषि र खानेपानीमा सोचे अनुसार प्रगति हुन नसके पनि कुनै कामै नभएको अवस्था भने नरहेकाले आगामी दिनमा यसको बिकासका लागि लगानी बढाइने उहाँले बताउनुभयो । विगतमा करारमा भर्ना गरिएका शिक्षाको तलब भत्ता व्यवस्थापनमा अधिकांस बजेट सकिएपछि अन्य विकासका काममा थोरै मात्र लगानी गर्नुपर्ने बाध्यताले यो समस्या आएले अब त्यसो नहुने उहाँको भनाई छ । सार्वजनिक सुनुवाइमा गाउँपालिका उपाध्यक्ष नेत्रकला देबी शाहीले न्यायिक समितिको क्षेत्रधिकार र हालसम्म आएका उजुरीको प्रकृति बारे जवाफ दिनुभयो ।

उहाँले क्षेत्राधिकार भित्रका कुनै पनि उजुरी नआएको भएपनि मौखिक रुपमा आउने अन्य समस्यामा समेत सहजीकरण गर्ने गरेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले कर्मचारी अभावका कारण विगतमा सेवा प्रवाहमा केहि समस्या देखिएपनि अब त्यो अवस्था दोहोरीन नदिने बताउनुभयो । त्यसका लागि आफुहरु मजबुत रुपमा व्यवस्थापनमा लागेको पनि उहाँको भनाई छ । कार्यक्रममा नेकपा एमालेका प्रदेश सल्लाहकार सदस्य धर्मबहादुर शाहीले बिद्युत् बिस्तार, श्रीमिकले पारिश्रमिक नभएको लगायत कृषि र पशु सेवा बारे प्रश्न राख्नु भएको थियो ।

नेपाली कांग्रेसका रंग बहादुर बुढा, नेकपा एमालेका अम्मर बहादुर बुढा, नेकपा एकीकृत समाजवादीका दान बहादुर बुढा र विद्यार्थी दिनेश बुढा लगायतले प्रश्न गरेका थिए । वडाध्यक्ष चन्द्रबहादुर बुढाले आर्थिक वर्ष २०८०/०८१ मा खर्च गरिएको बजेट र बिकास निर्माणको अवस्था बारे प्रतिवेदन प्रस्तुत गरेको सार्वजनिक सुनुवाइको सञ्चालन वडा सचिव सुजता भट्टराइले गर्नु भएको थियो ।

पत्रकार ध्रुव बीसीले सहजीकरण गरेको सार्वजनिक सुनुवाइमा ढकारी गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष कर्णबहादुर साउँद, वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर थापा, कार्यपालिका सदस्य इन्द्रादेबी बुढा, वडा सदस्यहरु पदम बुढा, जगत बहादुर बुढा, ललिता नेपाली र सहास नेपालका परियोजना अधिकृत अस्मिता घिमिरे लगायत करिब ५६ जना बढीको सहभागिता रहेको थियो ।

आर्थिक वर्ष: