FAQs Complain Problems

ढकारीमा सार्वजनिक सुनुवाइ सुरु |

अछामको ढकारी गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ सुरु भएको छ । वडा नम्बर २ हिच्माबाट सार्वजनिक सुनुवाइ सुरु भएको हो ।

वडाध्यक्ष चन्द्रबहादुर साउँदको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर साउँदको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष नेत्रकला देबी शाहीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न सार्बजनिक सुनुवाइमा हिच्माका स्थानीयले बिद्युत्, खानेपानी र भरपर्दो सडक सञ्जाल बारे प्रश्न उठाएका छन् । वर्षौ देखि गाउँमा विद्युत् बिस्तार गर्छु भनेर आफुहरुलाई आश्वासन मात्र दिएको भन्दै उनीहरुले तत्काल त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् ।

गाउँमा विजुली नहुँदा वडा कार्यालयबाट हुने सेवा समेत प्रभावित हुने गरेकाले स्थानीयले लामो समयदेखि सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ । सामान्य फोटोकपी गर्न समेत गाउँपालिकाको केन्द्र ढकारी धाउनुपर्ने बाध्यता रहेको भन्दै यो समस्या समाधान गरिदिन उनीहरुले माग गरेका छन् । खानेपानीको समस्या पनि उस्तै बिकराल रहेको भन्दै वडा नम्बर- २ को सार्वजनिक सुनुवाइमा सहभागि स्थानीयले दुषित पिउने पानीले गाउँभर बिरामीहरु बढेको बताए ।

मुहान व्यवस्थापन नहुनु र गाउँमा पानीको सुबिधा नहँुदा बर्षातमा भेल मिसिएको पानीको प्रयोग गर्नुपर्ने बाध्यता रहेको भन्दै त्यसले आँउ, रुघाखोकी र टाइफाइडका बिरामी बढेको उनीहरुको भनाई छ । त्यस्तै भरपर्दो सडक सञ्जाल नहुँदा बिरामी, गर्भवती र ज्येष्ठ नागरिकले उपचार सेवाबाट बञ्चित हुनु परेको भन्दै स्थानीयहरुले यस बारे गाउँपालिकाले गम्भीर रुपमा सोच्नुपर्ने बताएका छन् ।

सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ दिदै ढकारी गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर साउँदले विद्युत् बिस्तारमा अपेक्षित प्रगति हुन नसकेको भन्दै आफुहरु निरन्तर प्रयास गरिरहेको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण मार्फत भइरहेको विद्युत् विस्तार कार्यमा ढिलो भइरहेकाले आफुहरुले पटकपटक यसबारे ध्यानाकर्षण गराइरहेको र अब छिट्टै विद्युत् विस्तार हुने उहाँको भनाई छ । यदि अब पनि काम सुस्त गतिमा भए आफुहरु प्राधिकरणलाई समन्वय गरेर छिटो काम सम्पन्न गराउने तर्फ लाग्ने विस्वास पनि उहाँले दिलाउनुभयो ।

खानेपानी र सडक सञ्जाल बिस्तारको कार्य निरन्तर भइरहेकाले त्यसमा पनि विस्तारै प्रगति हुने अध्यक्ष साउँदको भनाई छ । सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ दिने क्रममा गाउँपालिकाका उपाध्यक्ष नेत्रकलादेबी शाहीले गर्भवती तथा सुत्केरीका लागि दिइने बजेट बिनियोजन भइसकेकाले अब सबैले सुविधा पाउने बताउनुभयो । विगतमा भत्ता पाउन छुटेकाहरुलाई पनि यो वर्ष दिइने उहाँले प्रतिवद्धता जनाउनुभयो । त्यसैका लागि नै भनेर गाउँपालिकाले २५ लाख बजेट बिनियोजन गरेको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले वडा स्तरका कार्यालयहरुको मजबुत व्यवस्थापनका लागि आफुहरु निरन्तर लागिरहेको भन्दै कर्मचारीहरुको सञ्जालाई सहयोग गर्न आग्रह गर्नुभयो । दैनिक सेवालाई सर्वसुलभ बनाउन आफुहरु व्यवस्थापन पक्षलाई बलियो बनाउने तर्फ लागेकाले यसमा जनप्रतिनिधि र स्थानीयले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

वडाध्यक्ष चन्द्रबहादुर साउँदले आर्थिक वर्ष २०८०/०८१ मा खर्च गरिएको बजेट र बिकास निर्माणको अवस्था बारे प्रतिवेदन प्रस्तुत गरेको सार्वजनिक सुनुवाइमा नेपाली कांग्रेसका वडा सभापति विष्णु रिमाल, नेकपा एकीकृत समाजवादीका बीरबहादुर साउँद, स्वास्थ्य शाखा ढकारी गाउँपालिकाका प्रमुख सुरत बुढा, उद्यम विकास सहजकर्ता नबिन बुढा लगायतको उपस्थीति रहेको थियो । ढकारीका ८ वटै वडा तथा गाउँपालिकामा समेत गरिने सार्वजनिक सुनुवाइको सहजीकरण पत्रकार ध्रुव बीसीले गरिरहनु भएको छ ।

आइतबार वडा नम्बर ३ को सार्वजनिक सुनुवाइ हुनेछ ।

आर्थिक वर्ष: